काठमाडौं । पाकिस्तानले अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाललाई प्रस्ताव गरेको छ ।
बंगलादेशसँग दुई मैत्रिपूर्ण सिरिज खेलेको नेपाललाई पाकिस्तानले प्रस्ताव गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले खेलपाटीलाई जानकारी गराए अनुसार पाकिस्तानले दुई मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेको छ ।
तर, होम र अवे खेलको भने टुंगो नलागेको एन्फा स्रोत बताउँछ ।
‘मैत्रिपूर्ण खेलको लागि पछिल्लो समय पाकिस्तानबाट प्रस्ताव आएको छ । होम अवे टुंगो छैन । समय पनि टुंगो लागेको छैन । तर हामी होम खेलको लागि कुरा गरिरहेका छौं,’ स्रोतले भन्यो ।
नेपालले आगामी फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तीन खेल तयारीका लागि अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले आगामी मार्च र जुनमा चाईनिज ताईपे, अष्ट्रेलिया र जोर्डनसँग खेल्दैछ । तीनै खेल दशरथ रंगशालामा हुनेछ ।
एन्फाले विश्वकप छनोट अघि कम्तिमा पनि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने र त्यसका लागि होम अथवा अवे जुन सुकै मैत्रिपूर्ण खेल हुने समेत बताएको छ ।
‘हामी मार्च अघि फिफा डे नपरेपनि मैत्रिपूर्ण खेल खेल्छौ । पाकिस्तान नभएपनि अरु टिम पक्कै हुन्छ,’ स्रोतले भन्यो ।
यस अघि नेपाली टिम बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेलेर बिहीबार मात्रै स्वदेश फर्किएको थियो । एक खेलमा पराजित नेपाल अर्काे खेलमा बंगलादेशलाई बराबरीमा रोक्न सफल भएको थियो ।
बंगलादेशसँग स्वदेश फर्किएको नेपाली टोली सातदोबाटोस्थित एन्फा होस्टेलमा क्वारेन्टिनमा रहेको छ ।