एजेन्सी । इंग्लिस क्लब आर्सनल तथा बोस्निया एण्ड हर्जगोबिनाका डिफेन्डर सिड कोलासिनाचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
यूईएफए नेसन्स लिग फुटबलका लागि बोस्नियामा रहेका कोलासिनाचलाई बुधबार कोरोनाको संक्रमण पुष्टि भएको हो ।
बोस्नियाको फुटबल फेडेरसनले डिफेन्डरलाई कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिएसँगै कोलासिनाचले इटालीविरुद्धको खेल गुमाउने भएका छन् ।
बोस्नियाले समूह चरणको अन्तिम खेलमा आज राति इटालीसँग घरेलु मैदानमा खेल्नेछ ।
२७ वर्षीय डिफेन्डर यस अघि नेदरल्यान्ड्सविरुद्धको खेल पुरै समय खेलेका थिए ।
उनले प्रिमियर लिग अन्तर्गत आइतबार हुने लिड्स युनाईटेडविरुद्धको खेल समेत गुमाउने छन् ।