एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलले क्रोएसिया ३-२ गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियाको घरेलु मैदानमा एक गोलले पछि परेको पोर्चुगलले पुनरागमन जित निकालेको हो ।
खेलको २९ औं मिनेटमा माटियो कोभासिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा मार्को रोगले रातो कार्ड पाएपछि क्रोएसिया १० खेलाडीमा समेटियो ।
५२ औं मिनेटमा रुबेन डियाजले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा कोभासिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-२ को जित दिलाए ।
जितसँगै लिग 'ए' समूह सीको पोर्चुगलले ६ खेलमा ४ जितसहित १३ अंक जोड्यो ।
पोर्चुगल समूहको दोस्रो स्थानमा रह्यो । तर, साविक विजेता पोर्चुगल यस पटक भने सेमिफाइनलमा पुग्न असफल भयो ।
तेस्रो स्थानमा रहेको क्रोएसिया भने रेलिगेसनबाट जोगिएको छ । क्रोएसियाले ६ खेलमा ३ अंक जोड्यो ।