काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।
करिब ८ महिनापछि मैदान फर्किएका नेपाली टिमले दुबै हाफमा एक एक गोल व्यहोरेको थियो ।
यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
‘मुजिव वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको पहिलो खेलमा हार व्यहोरे पनि नेपालका तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने मौका पाए ।
नेपालको उमेर समूहबाट खेलिसकेका डिफेन्डर विकाश खवास र दुई मिडफिल्डर एरिक विष्ट र दर्शन गुरुङले डेब्युको अवसर पाएका थिए ।
केहि मुख्य खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण रोहित चन्द टिम बाहिर रहदा तीन नयाँ खेलाडीले मौका पाएका हुन् । त्यसो त नेपाली टिम ८ नयाँ खेलाडीसहित बंगालदेश भ्रमणमा रहेका छन् ।
डेब्यु गर्ने तीन खेलाडी कस्ता ?
विकाश खवास -
नेपाल आर्मी क्लबका डिफेन्डर समेत रहेका खवास पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । यस अघि क्लोज क्याम्पको अन्तिम चरणमा पुगेर बाहिरिँदै आएका उनी पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भए र पहिलो अवसरमै डेब्यु गर्न सफल रहे ।
प्रशिक्षक बाल गोपाल महर्जनले विकाशलाई विश्वास गर्दै प्लेईङ सेटमै खेलाएका थिए । मोरङ निवासी खवासले पुरा समय समेत खेले ।
आर्मीका भरपर्दा डिफेन्डर खवास एन्फा एकेडेमीका उत्पादन समेत हुन् । उनले नेपाल उमेर समूहबाट दुई उपाधि समेत हात पारेका छन् । भुटानमा आयोजना भएको यू–१८ साफ च्याम्पियनसिप र नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियागिता सागमा नेपालले स्वर्ण जित्दा खवास टिमका महत्वपूर्ण खेलाडी थिए ।
यस अघि विना रेलिगेशनको ए डिभिजन आयोजना हुँदा आर्मी क्लबको प्रतिनिधित्व गर्दै खवासले युवा उदीयमान खेलाडीको उपाधि हात पारेका थिए ।
एरिक विष्ट -
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल एरिक पहिलो अवसरमै सिनियर टिमबाट डेब्यु गर्न सफल भएका हुन् । सुरुवाती समय बेन्चमा रहेका मिडफिल्डर एरिकलाई प्रशिक्षक महर्जनले पहिलो हाफमै मैदान प्रवेश गराएका थिए ।
मिडफिल्डर विक्रम लामाले चोट बोकेपछि महर्जनले एरिकलाई पहिलो हाफको ४२ औं मिनेटमा मैदान प्रवेश गराएका थिए ।
हालै सम्पन्न ए डिभिजन लिगमा एरिकले न्युरोड टिम एनआरटीबाट खेलेका थिए । बासबारी युवा क्लबका उत्पादन एरिकले घरेलु यू–१८ प्रतियोगितामा आर्मीलाई दुई पटक उपाधि दिलाएका थिए ।
यस्तै उनले नेपाललाई भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि दिलाएका थिए ।
यस अघि कोरोना संक्रमित एरिक ठिक हुँदै टिममा फर्किएका हुन् ।
दर्शन गुरुङ -
दर्शन पछिल्लो एन्फा ब्याजबाट राष्ट्रिय टिममा स्थान बनाउने एक्ला खेलाडी हुन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका मिडफिल्डर तथा विंगर दर्शक पहिलो अवसरमै डेब्यु गर्न सफल भए ।
गत सिजन न्यूरोड टिम एनआरटीबाट उत्कृष्ट प्रदर्शन गर्दै दर्शन पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पको लागि छनोट भएका थिए । गत लिगमा दर्शन युवा उदयीमान खेलाडी समेत घोषित भएका थिए ।
इलाम नगरी दर्शनले उमेर समूहमा भने नेपाललाई उपाधि दिलाउन सफल भएनन् । आयोजक नेपाल समूह चरणबाटै बाहिरिँदा लगातार तेस्रो पटक यू–१८ साफ च्याम्पियनसिपका उपाधि हात पार्नबाट बञ्चित भएको थियो ।
प्रशिक्षक महर्जनले दर्शनलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए । अर्का विंगर रवि पासवानलाई दर्शनले खेलको ६९ मिनेटमा स्थानानन्तरण गरेका थिए ।
