एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर एसी मिलान बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा आइतबार राति मिलानले हेलास भेरोनासँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको छैटौं मिनेटमा एन्टोनिन बाराकले गोल गर्दै भेरोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
१९ औं मिनेटमा मिलानका डेभिड कालाब्रियाले आत्मघाती गोल गर्दा भेरोनाले २-० को अग्रता बनायो ।

खेलको २७ औं मिनेटमा भेरोनाका जियानजियाकोमा माग्नानीले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल २-१ को अवस्थामा सकियो ।
खेलको ५६ औं मिनेटमा भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्न सकेनन् ।
भेरोनाका माटियो लोभाटोले आफ्नो पेनाल्टी क्षेत्रमा फ्रान्क केसीलाई फाउल गरेपछि मिलानले पेनाल्टी पाएको थियो । जसमा इब्राहिमोविचको प्रहारले पोस्टको दिशा लिन सकेन ।
यस्तै ९० औं मिनेटमा मिलानका डेभिडले गोल गरेपनि भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई मान्यता दिएन ।

तर, खेलको इन्जुरी समयमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यो बराबरीपछि पनि मिलानले शीर्ष स्थान कायम राखेको छ । मिलानले ७ खेलमा १७ अंक जोडेको छ ।
भेरोना १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सिरी 'ए' कै अर्को खेलमा नापोलीले बोलोग्नालाई १-० ले हराएको थियो ।
इन्टर मिलान र एटलान्टाले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।