एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ ।
रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग ४-१ गोल अन्तरको हार व्यहोरेको हो ।
भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि रियलले फराकिलो हार व्यहोरेको हो ।
कार्लोस सोलेरले ह्याट्रिक गरेपछि भ्यालेन्सियाले रियलविरुद्ध सहज जित निकालेको हो ।
खेलको २३ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो ।

३० औं मिनेटमा भ्यालेन्सियाका कार्लोसले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुआले बचाए ।
खेलको ३५ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याए ।
४३ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गर्दा भ्यालेन्सिया पहिलो हाफमा २-१ ले अघि रह्यो ।
खेलको ५४ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमा व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दा भ्यालेन्सियाले ४-१ को सहज जित निकाल्यो ।

जितसँगै भ्यालेन्सिया लिगको नवौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले ८ खेलमा ११ अंक जोडेको छ ।
रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।