एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो ।
सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।
खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन ।
खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले केभिन डी ब्रुएनको पासलाई सदुपयोग गरे ।
त्यसपछि खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो । तर, सिटीका ब्रुएनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

लिभरपुलका जोसेप गोमेजले पेनाल्टी बक्सभित्र हातले बल रोकेपछि सिटीले पेनाल्टी पाएको थियो । जसमा ब्रुएन असफल भए । उनको प्रहारले पोस्टको दिशा लिन नसक्दा सिटी अग्रता बनाउन बन्चित बनेको थियो ।
घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ ।
बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

