एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल पुग्नका लागि हुने दिल्ली र हैदराबादबीचको खेल आबुधाबीमा हुनेछ । खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र हैदराबाद जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । र, फाइनलमा मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
यस खेलमा पराजित हुने टिम भने बाहिरिनेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो । तर, आईपीएलको नियम अनुसार दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
श्रेयस एयरको कप्तानीमा रहेको दिल्ली हैदराबादलाई हराउँदै पुन: मुम्बईसँगको भेट पक्का गर्न चाहन्छ । तर, दिल्लीलाई हैदराबादविरुद्ध जित निकाल्न सहज हुने छैन ।

यता, हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद पनि दिल्लीलाई हराएर फाइनल पुग्न चाहन्छ ।
दिल्लीविरुद्ध हैदराबादको अघिल्ला नतिजा समेत राम्रो रहेको छ । लिग चरणको दुबै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो ।
लिग चरणको पहिलो भेटमा हैदराबादले दिल्लीलाई १५ रनले हराएको थियो । दोस्रो भेटमा हैदराबादले ८८ रनको जित निकालेको थियो ।