एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लुडोगोरेट्सको मैदानमा ह्यारी केनले १३ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा लुकास मौराले गोल गर्दा टोटेनहम २-० ले अघि रह्यो ।

५० औं मिनेटमा लुडोगोरेट्सका क्लाउडियो केसेरुले गोल गर्दै खेल २-१ मा ल्याए ।
तर, ६२ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै टोटेनहम समूह 'जे' को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो जित निकालेको टोटेनहमले ३ खेलमा ६ अंक जोडेको छ ।
अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।