एजेन्सी । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेपनि आर्सनलले पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा २२ औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।
तर, ४५ औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी पुग्यो ।

खेलको ६२ औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २-१ को अग्रता बनायो ।
७० औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए ।
जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।
समूह 'बी' मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ ।
मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
