काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
प्रशिक्षणमा बोलाईएको ३४ खेलाडीबाट एन्फाले २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
जसमा मिडफिल्डर रोहित चन्द टिममा परेका छैनन् । प्रशिक्षणको दौरान चोट बोकेपछि रोहित टिम बाहिर रहेका हुन् ।
यस्तै अन्य ७ खेलाडी कोरोना संक्रमण देखिएपछि बंगलादेश जाने छैनन् ।
तर, एन्फाले घोषणा गरेको टिममा आठ खेलाडीले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।
दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ पहिलो पटक टिममा परेका छन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
नेपाली टिम : अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ