काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली टोलीलाई विदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गरेका थिए ।
२५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टिम बिहीबार ढाका प्रस्थान गर्ने छन् ।
प्रशिक्षणमा बोलाईएको खेलाडी मध्ये ७ जना कोरोना संक्रमण देखिएपछि बंगलादेश जाने छैनन् ।
यस्तै रोहित चन्द चोटका कारण बंगलादेश भ्रमण गुमाउने छन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।