काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका महत्वपूर्ण सदस्य रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
प्रशिक्षणको दौरान चोट बोकेपछि मिडफिल्डर रोहितले बंगलादेशको भ्रमण गुमाउने भएका हुन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले चोट बोकेको कारण रोहितले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने बताए ।
रोहितले चोट बोकेसँगै ८ खेलाडीले बंगलादेश भ्रमण नगर्ने भएका छन् ।
अन्य ७ खेलाडी भने कोरोना संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना देखिने खेलाडीको नाम गोप्य राखेको छ । तर, कोरोना देखिने प्लेइङ सेटमा पर्ने खेलाडीहरु भएको एन्फा स्रोतले जनाएको छ ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।