एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले रेडबुल साल्जबर्गलाई हराएको छ ।
मंगलबार राति शतप्रतिशत जित निकाल्ने क्रममा बायर्नले साल्जबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।
मर्गिम बेरीशाले सुरुवातमै घरेलु टोली साल्जबर्गलाई अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोसकीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए ।
साल्जबर्गका डिफेन्डर रासमस क्रिस्टेन्सनको आत्मघाति गोलसंगै बायर्न खेलमा अघि बढ्यो । बैकल्पिक खेलाडी मसाया ओकुगावाको गोलसंग साल्जबर्गले खेल बराबरीमा ल्याएको थियो ।
त्यसपछि बायर्नले लगातार चार गोल गर्यो ।

जेरोम बोटेङ्गले हेड गोलमार्फत बायर्नलाई खेलमा अघि बढाए । कर्नरबाट प्राप्त बललाई बोटिङ्गले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
लिरो साने, लेवान्डोस्की र लुकास हर्नान्डेजले बायर्नका लागि थप एक एक गोल गरे ।
साविक विजेता बायर्नले यस सिजन समेत सुरुवाती तीनै खेलमा जित निकालेको छ । उसले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ५ अंकको अग्रता लिएको छ ।
स्पेनिस क्लब एट्लेटिकोले मंगलबार रातिनै भएको अर्को खेलमा लोकोमोटिभ मस्कोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

बायर्नले नोभेम्बर २५ मा साल्जबर्गविरुद्ध घरेलु मैदानमा जित निकालेको खण्डमा जर्मन क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्नेछ ।
समूह एमा शीर्ष स्थानको बायर्नको ९ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको ४ अक छ । मस्को क्लबको २ र पुछारको साल्जबर्गको १ अंक छ ।