एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
सेल्टाको मैदानमा डेभिड सिल्भाको गोलमा २४ औं मिनेटमा सोसिडाडले अग्रता बनाएको थियो ।
खेलको ३४ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।

५४ औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
तर, ८१ औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।
यस्तै खेलको ९० औं मिनेटमा जोसे फोन्टानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा अन्तिम समय सेल्टा १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ ।
पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।