एजेन्सी । साउथह्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
आइतबार भएको रोमान्चक खेलमा एस्टन भिल्लालाई ४-३ गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन शीर्ष तीनमा उक्लिएको हो ।
एस्टनको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउजले दुई गोल गरे । जानिक भेस्टरगार्ड र ड्यानी इन्ग्सले एक एक गोल गरे ।
घरेलु टोलीका टाइरोन मिन्ग्स, ओली वाट्कीन्स र ज्याक ग्रिलिसले एक एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा जानिकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ४५ औं मिनेटमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दा साउथह्याम्पटनले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
खेलको ५८ औं मिनेटमा ड्यानीले गोल गर्दा साउथह्याम्पटन ४-० ले अघि रह्यो ।
त्यसपछि घरेलु टोलीले लगातार तीन गोल गर्दा खेल रोमान्चक बनेको थियो ।
खेलको ६२ औं मिनेटमा मिन्ग्सले गोल गर्दै एस्टनलाई ४-१ को स्थितिमा ल्याए ।
९० औं मिनेटमा ओलीले पेनाल्टीमा गोल गर्दा खेल ४-२ को स्थितिमा आयो ।

त्यसपछि खेलको इन्जुरी समयमा ज्याकले गोल गरेपछि घरेलु टोलि ४-३ ले पराजित भयो ।
जितपछि साउथह्याम्पटनले ७ खेलमा १३ अंक जोडेको छ ।
एस्टनले ६ खेलमा १२ अंक जोडेको छ । एस्टन छैटौं स्थानमा रहेको छ ।