एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । युनाईटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन् ।
युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । आर्सनल हराएर युनाईटेड सिजनको तेस्रो जित निकाल्न चाहन्छ ।
तर, आर्सनलविरुद्ध युनाईटेडका डिफेन्डर एलेक्स टेलस र फरवार्ड एन्थोनी मार्सियलले खेल्ने छैनन् ।
युनाईटेडविरुद्ध मैदान उत्रदा आर्सनल भने चौंथो जितको खोजीमा हुनेछ । आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।
आर्सनलका डिफेन्डर डेभिड लुइजले युनाईटेडसँगको खेल गुमाउने छन् ।
लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेडसँग खेल्नेछ । १३ अंक जोडेको एभर्टन जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
यस्तै टोटेनहमले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ ।
साउथह्याम्पटनले एस्टन भिल्लासँग खेल्नेछ ।