एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आज (शनिबार) वेस्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
लिभरपुल ६ खेलमा १३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
तर, लिभरपुललाई खेलाडीको चोटले भने सताउने छ ।
मुख्य डिफेन्डर भिर्जिल भान डाइक टिममा हुने छैनन् । यस्तै फाबिन्हो टिम बाहिर रहने छन् ।
तर, वेस्ट ह्यामविरुद्ध लिभरपुलका १९ वर्षीय डिफेन्डर विलियम्सले प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना रहेको छ ।
वेस्ट ह्याम पनि लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । वेस्ट ह्याम ८ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर सिटीले सेफिल्ड युनाईटेडसँग खेल्नेछ । सिटीले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ ।
सिटी ६ खेलमा ८ अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेको छ । सेफिल्डलाई हराएर सिटी अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै चेल्सीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । बर्नलीलाई हराएर चेल्सी पनि अंक तालिका सुधार्न चाहन्छ ।
चेल्सी ६ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ । १ अंक जोडेको बर्नली १८ औं स्थानमा रहेको छ ।