एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई हराएको छ ।
शुक्रबार राति घरेलु मैदानमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो ।
युवा खेलाडी रायल एट नुरीले डेब्यु खेलमा गोल गरेपछि उल्भ्स शीर्ष तीनभित्र पर्न सफल बनेको हो ।

२१ वर्षिया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका हुन् । लिग वान क्लब एन्जर्सका खेलाडीले १८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अघि बढाएका थिए ।
क्यासटिलो पोडेन्सले २७ औं मिनेटमा गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाउन काम गरे ।
सुरुवातमै लिएको दुई गोलको अग्रतामा उल्भ्सले महत्वपूर्ण तीन अंक बटुल्न सफल बन्यो ।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको प्यालेस खेलको अन्तिम समय १० खेलाडीमा सिमित बनेको थियो ।
लुका मिलोवोजविक रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
उल्भ्सले शीर्ष स्थानका क्लबहरु एभर्टन र लिभरपुलसंगै १३ अंक जोडेको छ । यद्धपी उसले एभर्टन र लिभरपुल भन्दा एक खेल बढी खेलेको छ ।
गोल अन्तरका आधारमा एभर्टन शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा छ । क्रिस्टल प्यालेस १० अंक सहित तालिकाको नवौं स्थानमा छ ।