एजेन्सी । यूइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (मंगलबार) रियल मड्रिडले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह 'बी' मा रहेको रियलले समूह चरणको दोस्रो खेलमा मुन्छेनग्लाडबाखसँग उसैको मैदानमा खेल्नेछ । रियल र मुन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
जर्मन क्लबविरुद्ध मैदान उत्रदा रियल पहिलो जितको खोजीमा हुनेछ । खराब सुरुवात गरेको रियल पहिलो अंकको खोजीमा हुनेछ ।
च्याम्पियन्स लिगकै सर्वाधिक सफल टिम रियल पहिलो खेलमा युक्रेनी क्लब शाख्तर डोनेक्ट्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले जर्मन क्लबविरुद्ध खेल्ने टिममा इडेन हाजार्डलाई समावेश गरेका छन् । चोटको कारण हाजार्डले यो सिजन खेलेका छैनन् ।

मुन्छेनग्लाडबाख पनि पहिलो जित निकाल्ने लक्ष्यमै हुनेछ । मुन्छेनग्लाडबाखले पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
यस समूहमा मुन्छेनग्लाडबाख १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियल भने पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग खेल्नेछ ।
इन्टर पहिलो जितको खोजीमा हुनेछ । शाख्तर भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।