काठमाडौं । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेल बाल गोपाल महर्जनको प्रशिक्षणमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बंगलादेशसँग नेपालले महर्जनको प्रशिक्षणमा खेल्ने जनाएको छ ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
यस्तै टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ।
यस्तै नेपालले दोस्रो मैत्रीपूर्णमा मंसिर २ गते बंगलादेशसँग खेल्नेछ ।
मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।
प्रशिक्षणका लागि खेलाडीहरु बुधबारसम्म काठमाडौं आइसक्ने एन्फाले जनाएको छ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।