एजेन्सी । साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) लोकमोटिभ मस्कोसँग खेल्दैछ ।
जर्मन क्लब बायर्नले समूह चरणको दोस्रो खेलमा रुसी क्लबसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र मस्कोबीचको खेल नेपाली समय अनुसार ११:४० बजे सुरु हुनेछ ।
मस्कोको मैदानमा बायर्न सहज जितको खोजीमा हुनेछ । यस्तै बायर्न लगातार जितको खोजीमा हुनेछ ।
समूह 'ए' मा रहेको बायर्नले १ खेलमा ३ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको बायर्नले पहिलो खेलमा एट्लेटिको मड्रिडलाई ४-० ले हराएको थियो ।
पहिलो खेलमा स्पेनिस क्लबलाई हराएको कारण पनि बायर्न उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
तर, घरेलु टिम मस्कोलाई पराजित गर्नु बायर्नलाई सहज भने हुने छैन ।
मस्को बायर्नलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । मस्कोले पहिलो खेलमा साल्जबर्गसँग २-२ गोलको बराबरी खेलेको थियो ।
मस्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा एट्लेटिकोले साल्जबर्गसँग खेल्नेछ ।
घरेलु मैदानमा एट्लेटिको पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । पुछारको एट्लेटिकोले अंक जोड्न सकेको छैन ।
साल्जबर्ग पनि पहिलो जित निकाल्न चाहन्छ । १ अंक जोडेको साल्जबर्ग तेस्रो स्थानमा रहेको छ ।