एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरेपनि मिलानले जित निकाल्न सकेन ।
खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो ।
तर, १४ औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४७ औं मिनेटमा एलेक्सिस सलिमाकेर्सले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।
७१ औं मिनेटमा जोर्डन भेरेटोउटले पेनाल्टीमा गोल गर्दै रोमालाई पुन: बराबरीमा फर्काए ।
७९ औं मिनेटमा इब्राहिमोविचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले ३-२ को अग्रता बनायो ।
तर, खेलको ८४ औं मिनेटमा मार्श कुम्बुल्लाले गोल गर्दै रोमालाई हारबाट जोगाए ।
घरेलु मैदानमा बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा रहेको छ ।
मिलानले ५ खेलमा १३ अंक जोडेको छ । रोमा ५ खेलमा ८ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।