एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा आज (बुधबार) डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले बलियो आयाक्ससँग उसैको भूमिका खेल्नेछ । समूह 'डी' मा रहेको लिभरपुल र आयाक्सबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
डच क्लबविरुद्ध मैदान उत्रदा लिभरपुल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, लिभरपुललाई खेलाडीको चोटले सताउने छ ।
मुख्य डिफेन्डर भर्जिल भान डाइक र जोएल माटिपले डच क्लबसँगको खेल गुमाउने छन् । दुबै खेलाडीले एभर्टनसँगको लिग खेलमा चोट बोकेका थिए ।
यस्तै मिडफिल्डर थियागो अलाकान्टरा पनि टिम बाहिर रहेका छन् । पहिलो रोजाईका गोलकिपर एलिसन बेकर समेत टिममा हुने छैनन् ।
आयाक्सले फरवार्ड एन्टोनी र डिफेन्डर टिम्बेरलाई गुमाउने छ ।
अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टोसँग खेल्नेछ । सिटीले घरेलु मैदानमा पोर्टोसँग खेल्नेछ ।
समूह 'सी' मा रहेको दुई टिमबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।
पोर्टोविरुद्ध मैदान उत्रदा सिटी सुखद जितको लक्ष्यमा हुनेछ ।
तर, चोट बोकेका खेलाडीको सूची हेर्दा सिटीलाई जित निकाल्न कठिन देखिएको छ ।
पोर्टोविरुद्ध डिफेन्डर एम्रिक लापोर्टे र बेन्जामिन मेन्डीसहित मिडफिल्डर केभिन डी ब्रुएन र फरवार्ड जिसिस खेल्ने छैनन् ।