एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले युरोपा लिग च्याम्पियन सेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ ।
समूह इको खेलमा चेल्सीले घरेलु मैदानमा सेभियासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
एडुअर्ड मेन्डीले पहिलो रोजाईको गोलकिपरको रुपमा आफुलाई प्रमाणित गरेको खेलमा चेल्सीले सेभियालाई गोल रहित बराबरीमा रोक्न सफल रह्यो ।

चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले समेत पहिलो रोजाईको गोलकिपरको रुपमा मेन्डीले आफ्नो क्षमता प्रस्तुत गरेको बताए ।
उनी सेप्टेम्बरमा रेनेसबाट चेल्सी आएका थिए ।
उनले च्याम्पियन्स लिगको पहिलो खेलमा केही उत्कृष्ट बचाउ गरे । र युरोपा लिग विजेता सेभियाबाट अंक खोस्न सफल भए ।
खेलमा उनले केही निश्चित गोलका अवसरलाई बिफल बनाएका थिए ।
सेनेगलका अन्तराष्ट्रिय खेलाडी चोटबाट मैदान फर्कदै नेमान्जा गुडल्जको हेडलाई उत्कृष्ट ढंगले बचाउ गरेका थिए ।

गोलकिपरको गल्तीबाट पटक पटक दुख पाएका लाम्पार्डले किपा एरिजाब्लागाको राम्रो विकल्प भेटाएका छन् । लाम्पार्डको नेतृत्वमा यो पहिलो गोल रहित बराबरीको खेल हो ।
चेल्सीले राम्रो डिफेन्सको नमुना प्रस्तुत गरेको थियो । जसबाट प्रशिक्षक लाम्पार्डले राहतको महशुश गर्न सक्छन् । दुवै टिमले बराबरी खेल्दै समूहमा समान १ अंक जोडेका छन् ।