एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा क्रिस्टल र ब्राइटनले १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले बराबरीमा चित्त बुझाउनु परेको हो ।

खेलको १९ औं मिनेटमा विलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई १-० को अग्रता दिलाए ।
ब्राइटनका खेलाडीले मिची बात्सुयाईलाई पेनाल्टी क्षेत्रमा लडाएपछि क्रिस्टलले पेनाल्टी पाएको थियो ।
तर, क्रिस्टल अन्तिम समयमा सम्हालिन सकेन । खेलको ९० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा लेविस डंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै क्रिस्टलले ५ खेलमा ७ अंक जोडेको छ । क्रिस्टल तालिकाको १२ औं स्थानमा रहेको छ ।
ब्राइटन ४ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ ।
