एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न ४ खेलहरु हुँदैछ ।
आइतबार टोटेनहम, लेष्टर सिटी, फुलहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम युनाईटेडको सामना गर्नेछ । टोटेनहम र वेस्ट ह्यामबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । टोटेनहम ४ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
टोटेनहमले घरेलु मैदानमा ग्यारेथ बेललाई पहिलोपटक मैदान उतार्ने सम्भावना रहेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा टोटेनहम आएका बेल घुँडाको चोटबाट मुक्त भईसकेका छन् ।
वेस्ट ह्याम पनि टोटेनहमलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । ४ खेलमा ६ अंक जोडेको वेस्ट ह्याम १२ औं स्थानमा रहेको छ ।
लेष्टरले अपराजित एस्टन भिल्लासँग घरेलु मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १२ बजे सुरु हुनेछ ।
लेष्टर घरेलु मैदानमा एस्टनलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । लेष्टर ४ खेलमा ९ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
एस्टन भने लेष्टरलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ । ३ खेलमा अपराजित एस्टन ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै फुलहमले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
क्रिस्टल प्यालेसले घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ ।