एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ ।
शनिबार राति बार्सिलोना गेटाफेसंग १–० ले स्तब्ध बनेको हो ।
गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।
बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।
बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए ।
शनिबार राति शीर्ष स्थानको रियल मड्रिड पराजित बनेको खेलमा बार्सिलोनाले समेत हार ब्यहोरेको हो ।

दुवै टिमले आगामी शनिबार सिजनको पहिलो एल क्लासिकोमा प्रतिस्पर्धा गर्दैछन् ।
सन् २००३ को अप्रिलपछि पहिलो पटक रियल र बार्सिलोना एल क्लासिको अघि पराजित बनेका हुन् ।
लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिड बराबर १० अंक जोडेको छ ।
काडिज र ग्रानाडाले समेत समान १० अंक जोडेका छन् । बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा छ ।