एजेन्सी । म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले एक दिन रियल मड्रिडबाट खेल्ने सपना रहेको बताएका छन् ।
२७ वर्षिया फ्रान्सेली खेलाडी पोग्बाले युनाइटेडले प्राप्त गर्ने हरेक सफलतामा आफुले पुरा सहयोग गर्ने बताए ।
फ्रान्सेली मिडफिल्डर विगत लामो समयदेखि रियल मड्रिडसंग जोडिएका छन् ।
उनी सन् २०१६ मा युनाइटेडमा ८९ मिलियन पाउण्डमा अनुबन्धित भएका थिए ।
विश्वकप विजेता खेलाडीको सम्झौता यसै समरमा सकिदैछ । युनाइटेडले सन् २०२२ सम्म रहने अर्को विकल्पलाई सक्रिय बनाउन सक्नेछ ।
पोग्बाले सम्झौता नविकरणको बिषयमा क्लबसंग कुनै छलफल अघि नबढेको बताएका छन् ।
‘मलाई कसैले केही भनेको छैन ।’ उनले फ्रान्सेली राष्ट्रिय टिमको पत्रकार सम्मेलनमा भने, ‘मैले पनि कुनै कुरा गरेको छैन । हामीले नयाँ सम्झौताको बिषयमा कुरा गरेका छैनौ ।’
‘अहिलेको अवस्थामा म युनाइटेडमा छु । म आफ्नो उत्कृष्ट फर्मलाई फिर्ता ल्याउन केन्द्रित छु ।’ उनले थपे ।
‘मलाई लाग्छ, त्यस्तो समय आउनेछ । जब क्लबले कुरा गर्नेछ । हुन सक्छ मलाई केही प्रस्ताव गर्नेछ । वा नगर्न पनि सक्छ ।’ पोग्बाले थपे ।
रियल मड्रिडमा जाने सम्भावनाका बिषयमा पोग्बाले भने, ‘सबै फुटबलर रियल मड्रिडबाट खेल्न मन पराउँछन् । म युनाइटेडमा खेलिरहेको छु । मैले रमाइलो गरिरहेको छु । र क्लबले चाहेको चिज पुरा गर्न सबै गर्न तयार छु ।’
युनाइटेडले नयाँ सिजनमा खराब सुरुवात गरेको छ । प्रिमियर लिगका सुरुवाती तीन खेलमा युनाइटेडले पहिलो खेलमा मात्र जित निकालेको थियो ।
लिगको पछिल्लो खेलमा युनाइटेडले टोटेनहमसंग ६–१ को लज्जास्पदक हार ब्यहोरेको थियो । युनाइटेड प्रिमियर लिग तालिकाको १६ औं स्थानमा छ ।
पोग्बाले युनाइटेडबाट तीनै खेलमा सहभागीता जनाएका थिए । उनी गत अगष्टमा कोरोनाबाट संक्रमित भएपछि एकान्तवासमा बसेका थिए ।