एजेन्सी । लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ ।
शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।
अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । उसले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ ।
अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसंग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो । अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए ।
अर्को खेलमा उरुग्वेले चिलीलाई २–१ गोल अन्तरले पराजित गर्यो । लुर्ईस सुआरेजको पेनाल्टी गोलमा उरुग्वेले खेलमा अग्रता बनाएको थियो ।
एलेक्सिस साञ्चेजले चिलीका लागि बराबरी गोल फकाए । खेलको अन्तिम समयमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै उरुग्वेलाई जित दिलाए ।
अर्को खेलमा पाराग्वे र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।