काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्द इन्डोनेसिया जाने भएका छन् ।
इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
कोरोना भाईरसको महामारीको कारण इन्डोनेसियाको लिग वान स्थगित भएपछि रोहित स्वदेश फर्किएका थिए ।
पर्सिजा जकार्ताबाट खेलिरहेका रोहित मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
‘लिग खेल्न जाकर्ता मंगलबार फर्कदै छु,’ मिडफिल्डर रोहितले खेलपाटीसँग भने ।
रोहित मलेसियाको राजधानी क्वालालम्पुर हुँदै जार्कता पुग्नेछन् ।

कोरोनाको कारण रोकिएको लिग पुन: सुरु हुने टुंगो भने लागेको छैन ।
‘लिगको अझै टुंगो लागेको छैन । सायद अक्टोबरमै सुरु हुन्छ होला,’ रोहितले थपे ।
रोहित जाकर्ता पुगेपछि पनि १५ दिन क्वारेन्टिनमा बस्नेछन् ।
क्वारेन्टिन सकिएपछि उनी जकार्ताको प्रशिक्षणमा सामेल हुने छन् ।
कोरोना नियन्त्रण हुँदै गएपछि जकार्ताले टिमको प्रशिक्षण थालिसकेको छ । कोरोना परिक्षणपछि गत महिनाबाटै स्थानिय खेलाडी र स्टाफलाई समेटेर जकार्ताले प्रशिक्षण थालेको हो ।
रोहितको सनसनीपुर्ण प्रदशर्नसँगै जकार्ताले सन् २०१८ मा लिगको उपाधि समेत हात पारेको थियो । त्यस सिजन रोहित सवोक्रिष्ट खेलाडी घोषित भएका थिए ।
रोहित लिगमा एसियन कोटाबाट खेलिरहेका हुन् ।