एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो नामको ट्रेडमार्क प्रयोग गर्ने पाउने भएका छन् ।
अर्जेन्टिनाका मेस्सीले ९ वर्षको कानुनी लडाईपछि ट्रेडमार्क दर्ता गर्न पाउने भएका हुन् ।
युरोपेली संघको उच्च अदालतले मेस्सीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने फैसला गरेको छ ।
मेस्सीले सन् २०११ मा आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए।
तर, स्पेनिस साइक्लिङ कम्पनी मास्सी र युरोपेली संघको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओले ट्रेडमार्क नदिन अपील गरेका थिए ।
मास्सीले आफ्ना लोगोसँगको समानताका कारण मानिसहरू झुक्किन सक्ने भन्दै ट्रेडमार्क नदिन अपील गरेको थियो । तर, युरोपियन कोर्ट अफ जस्टिसले अपीललाई खारेज गरिदिएको छ ।
युरोपियन कोर्ट अफ जस्टिसले दुई ब्रान्डबीच मानिसहरूले फरक छुट्ट्याउन सक्ने वा नसक्ने भन्दा पनि स्टार खेलाडीको प्रतिष्ठालाई ध्यान दिनुपर्ने जनाएको छ ।
मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी हुन् ।
फोर्ब्सको अनुसार मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ ।