काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फुटबलका प्रतियोगिता नहुने पक्का भएपछि विदेशी खेलाडीहरु स्वदेश फर्कन थालेका छन् ।
कोरोनाको कारण नेपालमा फुटबल अनिश्चित बनेसँगै विदेशी खेलाडीहरु घर फर्किन थालेका हुन् ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा गत चैतको पहिलो साताबाट फुटबलसहित खेलकुद गतिविधि ठप्प रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने लिग र अन्य मोफसलको प्रतियोगिताका लागि विभिन्न क्लबमा आबद्द विदेशी खेलाडीहरु स्वदेश फर्कन थालेका हुन् ।
कोरोना संक्रमण फैलिन थालेसँगै एन्फाले मोफसलमा चलिरहेको सम्पूर्ण प्रतियोगिता स्थगित गरेको थियो । यस्तै 'बी' डिभिजन लिग स्थगित गरिएको थियो भने 'सी' डिभिजन लिग र महिला लिग सुरु हुनै पाएन ।
कोरोनाको कारण गरिएको लकडाउनले लामो समय नेपालमै रहेका विदेशी खेलाडी लकडाउन खुल्ला र अन्तराष्ट्रिय उडान सुरु भएसँगै घर फर्किन थालेका हुन् ।
लिग विजेता मछिन्द्र क्लबले गत साता आफ्ना दुई विदेशी खेलाडीलाई स्वदेश फर्काइसकेको छ । अर्का खेलाडीलाई पनि चाडै पठाउने तयारी गरेको छ ।
नेपालमा रहेका २३ विदेशी खेलाडीहरुको भिषा सकिएको र नविकरण गर्नु पर्ने भएको कारण पनि खेलाडी स्वदेश फर्कन थालेका हुन् ।
विदेशी खेलाडीका एजेण्टको रुपमा काम गरिरहेका सुगन तन्डुकारले सरकारले नियम अनुसार तत्कालका लागि कर र जरिवाना तिर्न नपर्ने हुँदा नेपालमा बाँकी रहेका २३ खेलाडी स्वदेश फर्कन लागेको बताए ।
‘हाल नेपालमा २३ विदेशी खेलाडी रहेका छन् । उनीहरु सबै अक्टोबर २१ सम्म स्वदेश फर्कने छन्,’ तन्डुकारले भने ।
लकडाउन खुकुलो भएसँगै नेपाल सरकारले नेपालमा रहेका विदेशीलाई भिषा नविकरणको लागि आग्रह गरेको छ ।
यदि मार्च २१ सम्म भिषा भएका विदेशीहरु अन्तराष्ट्रिय उडान सुरु भएको मितिको १५ दिनभित्र नेपाल छाड्न चाहेमा विमानस्थल र सिमानाको अध्यागमन कार्यालयबाट निशुल्क स्वदेश फर्कन पाउने छन् । तर, सप्टेम्बर १५ पछि नेपाल रहनेले जरिवाना सहित नविकरण गर्नु पर्ने जनाईएको छ ।
भिषा समाप्त भएको र सरकारले तोकेको समय उता (सेप्टेम्बर १५) खेलाडी नेपालमै रहेमा उसले दिनको ३ डलर र मार्च २१ अघिनै भिसा समाप्त भएको खण्डमा भने ८ डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।
चैतको पहिलो साता लिग समाप्त भएसँगै शीर्ष ६ मा नपरेका क्लबका खेलाडी भने फर्किएका थिए । फ्रेण्ड्सबाट खेलेका ब्राजिलियन खेलाडी, च्यासलबाट खेलेका जापानी खेलाडीसँगै एनआरटीका खेलाडी स्वदेश फर्किएका थिए । केहि खेलाडी भने श्रम भिषा नविकरण गर्दै नेपालमा रहेर खेल्दै आएका थिए ।
यस पटक भने करिब ७ वर्षदेखि नेपालमा बसेर खेल्दै आएका विदेशी खेलाडी समेत स्वदेश फर्कने तयारीमा छन् ।
सरकारले गरेका कडाईसँगै आफुहरु स्वदेश फर्कन लागेको विदेशी खेलाडीहरु बताउछन् ।
सन् २०१६ बाट नेपालमा व्यावसायिक फुटबल खेल्दै आएका फ्लोरेन्टले आफु आईभरी कोष्ट फर्कन लागेको बताए ।
‘कोरोनाले निकै गाह्रो बनाएको छ । साथै सरकारले पनि यस्तो समय कडाई गर्दा गाह्रो भएको छ । क्लबले टिकट खरिद गर्देको अवस्थामा स्वदेश फर्कन्छु,’ गत सिजनको लिग मनाङ मर्स्याङ्दीबाट खेलेका फ्लोरेन्टले भने ।
तीन महिना संचालन भएको लिगमा मछिन्द्र च्याम्पियन भएको थियो । १४ क्लब सहभागी प्रतियोगितामा विभागीय आर्मी, पुलिस र एपीएफ बाहेक अन्य सबै क्लबले विदेशी खेलाडी टिममा समावेश गराएका थिए ।
एन्फाले ४ विदेशी खेलाडीमा १ दक्षिण एसियाली मुलुकको खेलाडी अनिवार्य राख्नुपर्ने प्राबधान राखेको थियो ।
यता, क्लबलाई समेत खेलाडी फर्काउन नपाउँदा आर्थिक भार परेको छ ।
लकडाउनको ६ महिना विदेशी खेलाडीलाई जसोतसो पालेको र अब नसकिने ब्रिगेड ब्वाईज क्लबका व्यवस्थापक अर्बिन गुरुङ बताउँछन् ।
‘यो ६ महिना त पालियो । अब पनि गेम पनि नहुने र खेलाडीलाई पालेर बस्नुपर्याे भने त क्लबलाई ठुलो नोक्सान हुन्छ । विदेशीलाई फर्काउन पाए सहज हुन्थ्यो,’ अर्विन भन्छन् ।
आफ्ना दुई खेलाडी भिषा नविकरण नगरी नेपालमै रहेपछि रेलिगेशनमा परेको सरस्वती क्लबले ठुलो जरिवाना तिर्नु परेको छ । मार्च २१ अघिनै खेलाडीको भिषा सकिएकाले सरस्वतीले दिनको ८ रुपैयाको दरले दुई खेलाडीको ४ लाख जरिवाना तिरेको थियो ।