एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति चेल्सीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
बलियो टिम चेल्सीले ब्राइटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
समर ट्रान्सफरमा स्टार खेलाडीहरु अनुबन्ध गर्न सफल चेल्सी सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
चेल्सीले यस सिजन जर्मनीका युवा स्टार टिमो वेर्नेर र काइ हाभर्ट्ज अनुबन्ध गरेको छ ।
स्ट्राइकर वेर्नेर र अट्याकिङ मिडफिल्डर हाभर्ट्जले ब्राइटनविरुद्ध डेब्यु गर्ने छन् ।
फ्रान्क लाम्पार्डले यस सिजन हाकिम जियाच, बेन चिलवेल र थियागो सिल्भालाई पनि अनुबन्ध गरेको थियो ।
तर, जियाच र चिलवेल चोटका कारण र सिल्भा कमजोर फिटनेसको कारण पहिलो खेलमा मैदान उत्रने छैनन् ।
क्रिस्टियन पुलिसिच र सिजर एज्प्लिक्युएटा भने चोट मुक्त भएका छन् ।
ब्राइटन पनि सिजनको पहिलो खेलमा सुखद नतिजा निकाल्न चाहन्छ । तर, बलियो र मजबुत टिम चेल्सीलाई रोक्न घरेलु टोलीलाई कठिन हुनेछ ।
चेल्सीविरुद्ध ब्राइटनले एडम लालनालाई मैदान उतार्ने छ । अट्याकिङ मिडफिल्डर लालनालाई ब्राइटनले लिभरपुलबाट अनुबन्ध गरेको हो ।
यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
सेफिल्डको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।