एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको सिजनको पहिलो खेलमा वेस्ट ब्रुमलाई ३-० गोल अन्तरले पराजित गर्दै लेष्टरले सुखद सुरुवात गरेको हो ।
वेस्ट ब्रुमको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे । यस्तै टिमोथी कास्टाग्नेले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा टिमोथीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

डिफेन्डर टिमोथीले डेब्यु खेलमै लेष्टरका लागि गोल गरेका हुन् । बेल्जियमका डिफेन्डरलाई लेष्टरले इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको थियो ।
खेलको ७४ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए । वेस्ट ब्रुमका केलीले भार्डीलाई फाउल गरेपछि लेष्टरले पेनाल्टी पाएको थियो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा भार्डीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए । वेस्ट ब्रुममा डाराले लेष्टरका जस्टिनलाई फाउल गरेपछि लेष्टरले दोस्रो पटक पेनाल्टी पाएको थियो । जसमा भार्डीले सहजै गोल गरे ।

जितसँगै लेष्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । लेष्टर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
वेस्ट ब्रुमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
