एजेन्सी । मेस्सी सम्मिलित मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जित निकालेको छ ।
शनिबार राति बार्सिलोनाले प्रि–सिजनको खेलमा स्पेनिस क्लब जिम्न्यास्टिकलाई ३–० ले हराएको हो ।
जिम्न्यास्टिक स्पेनको पुरानो क्लब हो । क्याटलोनिया रहेको क्लब तेस्रो डिभिजनको लिग खेल्छ ।
यसै समर ट्रान्सफरमा क्लब छाड्ने निर्णय गरेका लियोनल मेस्सी पहिलो पटक बार्सिलोनाको जर्सीमा मैदानमा देखिएका हुन् ।
३३ बर्षिया अर्जेन्टिनी फरवार्डले गत अगष्टमा क्लब छाड्ने अनुमती पत्र दिन बार्सिलोनासंग अनुरोध गरेका थिए । क्लबले रिलिज पेपर दिन अस्विकार गरेपछि उनले गत हप्तामात्र बार्सिलोनामै बस्ने निर्णय गरेका हुन् ।

मेस्सीले सुरुवातमै रहेर मैत्रीपूर्ण खेलमा मैदान उत्रिएका थिए । उनी कप्तानको भूमिकामा यथावत थिए । तेस्रो डिभिजनको क्लबबिरुद्ध बार्सिलोनाले ३–१ को जित आत्मसाथ गरेको थियो ।
उसमान डेम्बेलेले सुरुवाती अग्रता दिलाएको खेलमा एन्टोनी ग्रिजम्यान र फिलिप कौटिन्होले पेनाल्टीमा १–१ गोल गरेका थिए ।
मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले सम्झौता अनुसार आफुले क्लब छाड्न पाउनुपर्ने माग गरेका थिए । सोही कारण उनी सुरुवातमा प्रि–सिजन अभ्यासमा समेत सामेल भएका थिएनन् ।
तर बार्सिलोनाले निशुल्क रिलिज क्लज दिने समय सकिएको भन्दै मेस्सीलाई अनुबन्धन गर्न ७ सय मिलियन युरो तिुर्नपर्ने बताएको थियो । उनले आफु क्लबबिरुद्ध अदालत नजाने भन्दै अभ्यासमा फर्कने निर्णय गरेका थिए ।
बार्सिलोनाले आईतबारबाट नयाँ सिजनको सुरुवात गर्दैछ । सेप्टेम्बर २७ मा बार्सिलोनाले भिल्ला रियललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।