एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुदैछ ।
प्रिमियर लिगको २०२०/२१ को सिजन अन्तर्गत पहिलो दिन चार खेल हुनेछ ।
साविक विजेता लिभरपुलले शनिबार लिड्स युनाइटेडसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
लिभरपुल र लिड्सबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिड्सविरुद्ध मैदान उत्रदा लिभरपुल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
तुलनात्मक रुपमा लिभरपुल लिड्स भन्दा बलियो टिम हो । तर, नौलो प्रतिद्वन्दी लिड्सविरुद्ध लिभरपुल सजग भएर खेल्नेछ ।
लिड्सविरुद्ध लिभरपुललाई चोटको समस्या हुने छैन । जोर्डन हेन्डरसन र जोएल माटिप पनि चोटबाट मुक्त भईसकेका छन् ।
१६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ । लिड्स च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको हो ।
प्रिमियर लिगका लागि लिड्सले भ्यालेन्सियाबाट स्पेनिस स्ट्राइकर रोड्रिगोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।
लिभरपुल र लिड्सबीच पछिल्लो पटक सन् २००१ मा प्रतिस्पर्धा भएको थियो । प्रिमियर लिगको उक्त खेलमा लिड्सले लिभरपुलमाथि एनफिल्डमा २-१ ले जित निकालेको छ ।
यस्तै आर्सनलले फुलहमसँग खेल्नेछ । फुलहमको मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ ।
गत सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेको आर्सनल यस सिजन उत्कृष्ट प्रदर्शनको योजनामा रहेको छ ।
फुलहमविरुद्ध सहज जित निकाल्दै आर्सनल सुखद सुरुवात गर्न चाहन्छ ।
च्याम्पियनसिपको प्ले अफको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको फुलहम पनि सुखद सुरुवातको योजनामा हुनेछ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेस र साउथह्याम्पटनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
नेपाली समय अनुसार राति १२:४५ मा हुने खेलमा वेस्ट ह्याम र न्युकासलबीच प्रतिस्पर्धा हुनेछ ।