काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले दिनेश राजवंशी सहित तीन जना खेलाडीलाई घरेलु फुटबलको नयाँ सिजनका लागि अनुबन्धन गरेको छ ।
ए डिभिजन क्लब मनाङले आसन्न घरेलु फुटबलका लागि दिनेश सहित तीन नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन गरेको हो ।
गत बर्ष तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको मनाङले दिनेश सहित विश्व अधिकारी र सरोज योञ्जनलाई क्लबमा अनुबन्धन गरेको छ ।
‘लिग हुने अपेक्षा सहित बलियो टिम बनाउन लागि परेका छौ । दिनेश सहित तीन नयाँ खेलाडीलाई अनुबन्धन गरेका छौ । अन्य खेलाडीसंग समेत छलफल गरिरहेका छौ ।’ क्लबका एक पदाधिकारीले खेलपाटीसंग भने ।
घरेलु फुटबल अनिश्चित रहेको समय मनाङ टिम पुनर्निमाणको गृहकार्यमा जुटेको छ । पुराना खेलाडीलाई निरन्तरता दिदै राष्ट्रिय टिममा राम्रा खेलाडी अनुबन्धन गर्ने मनाङको योजना छ ।

घरेलु फुटबलमा पुरानै शक्तिको रुपमा फर्कने लक्ष्य सहित मनाङले राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर दिनेश सहित विश्व र सरोजलाई क्लबमा अनुबन्धन गरेको हो ।
विश्व र सरोजले गत सिजन फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका थिए । सरोज फ्रेन्ड्स क्लबका कप्तान समेत थिए ।
राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर दिनेशको पछिल्ला दिनहरु राम्रो चलेको छैन । विश्वकप छनोट खेल्ने क्रममा राष्ट्रिय टिममा रहेको समय नाइट क्लबमा भेटिएपछि उनी सहित चार खेलाडीलाई कारबाही गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जनै खेलाडीलाई राष्ट्रिय टिमबाट मात्र निकालेन, केही महिना घरेलु फुटबल खेल्न समेत प्रतिबन्ध गर्यो । सोही कारण दिनेश गत बर्षको लिगमा अधिकांश समय मैदान बाहिर रहे । उनी गत बर्षमात्र थ्री स्टार क्लबबाट च्यासल युथमा आबद्ध भएका थिए ।
लामो समय मैदान बाहिर रहेका दिनेशलाई मनाङले टिम पुनर्निमाणको क्रममा समेटेको हो । एन्फाका उत्पादन दिनेश घरेलु फुटबलका राम्रा डिफेन्डर मानिन्छन् । उनले उमेर समूहका खेलबाटै लामो समय घरेलु फुटबलमा चम्किने संकेत गरेका थिए । तर अनुशासनमा कमजोर देखिएपछि उनी राष्ट्रिय टिमबाट समेत निकालिए ।
विश्व र सरोजले गत सिजन फ्रेन्ड्स क्लबबाट लिग खेलेका थिए । लिगमा गरेको प्रर्दशनकै आधारमा मनाङले दुवै खेलाडीलाई क्लबमा आबद्ध गरेको हो ।
मनाङले लिग सुरु हुने मितिले एक महिना अघिदेखि मात्र तलब दिने शर्तमा खेलाडी अनुबन्धन गरेको हो । लिग सञ्चालन हुने मितिले एक महिना अघिबाट मात्र खेलाडीले सम्झौता अनुसारको तलब प्राप्त गर्नेछन् ।
‘लिग कहिले सुरु हुने निश्चित छैन । तर लिग सुरु भएको एक महिना अघिबाट तलब दिने गरि सम्झौता गरेका छौ । लिग सुरु नभएको अवस्थामा खेलाडीलाई तलब दिने अवस्था पनि छैन ।’ क्लब स्रोतले खेलपाटीसंग भन्यो ।
अन्य विदेशी खेलाडीसंग छलफल भएपनि सम्झौता भने नभएको क्लबले जनाएको छ ।

सरकारले अनुमती दिने बित्तिकै घरेलु फुटबल सुरु गर्ने एन्फाको योजना छ । तर सरकारले खेलकुद गतिविधि पूर्ण रुपमा बन्द गरेर राख्ने निर्णय गरेको छ ।
गत चैतमा बी डिभिजन लिग मध्यान्तर तिर पुगेको अवस्थामा कोरोनाका कारण घरेलु फुटबल स्थगित बनेको थियो । त्यसपछि फुटबल गतिविधि अघि बढ्न सकेको छैन ।
एन्फाले चैतको अन्तिम साता सी डिजिभन सहित महिला लिग र जेठमा पुरुषको राष्ट्रिय लिग गराउने तयारी गरेको थियो । जिल्ला लिग सम्पन्न गरेको एन्फाले प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सम्पन्न गर्न सकेको छैन । कोरोनाको महामारीका कारण सम्पूर्ण प्रतियोगिता स्थगित अवस्थामा छ ।
एन्फाले गत सिजनको फुटबल पुरा गर्ने वा नयाँ सुरु गर्ने भन्ने बिषयमा समेत निर्णय गरेको छैन ।

घरेलु फुटबलको सदाबहादर दाबेदार टिम मनाङले गत बर्ष तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्यो । राष्ट्रिय टिमका अधिकांश खेलाडीहरु मनाङ छाडेर गत बर्ष मछिन्द्र क्लबमा आबद्ध भए ।
स्टार खेलाडीले भरिएको मछिन्द्रले पहिलो पटक लिग उपाधिनै उचाल्यो । तर घरेलु फुटबलको बलियो टिम मनाङ खेलाडी अभावमा तेस्रो स्थानमा रहदै चित्त बुझायो ।
ए डिभिजन लिगमा खस्किएको नतिजाबाट पाठ सिक्दै मनाङले राष्ट्रिय लिगमा बलियो उपस्तिथी बनाउने लक्ष्य लिएको थियो ।
सोही अनुसार उसले घरेलु फुटबलका सर्वाधिक सफल विदेशी फरवार्ड ओलावाले अफिज सहित केही राम्रा खेलाडीलाई अनुबन्धन गरेको थियो । तर कोरोनाले सिजननै अबरुद्ध बनेपछि मनाङको नयाँ बन्ने टिमले ठोस आकार पाएको छैन । तर क्लब नयाँ सिजनका लागि बलियो टिम बनाउने गृहकार्यमा जुटिसकेको छ ।
एक पदाधिकारीले भने, ‘पुराना खेलाडीलाई क्लबमा फर्काउँदै घरेलु फुटबलमा पुन दबाब बढाउन मनाङका लक्ष्य छ ।’