एजेन्सी । प्रशिक्षक फ्रान्क लाम्पार्डले आफु चेल्सीमा उपाधि जित्न आएको बताएका छन् ।
नयाँ सिजन सुरु हुनु अघि प्रशिक्षक लाम्पार्डले आफु दबाबलाई टाढा राख्दै उपाधि जित्नका लागि चेल्सीमा आएको बताएका हुन् ।
अर्वपति मालिक रोमन अब्रामोभिचको सहयोगमा चेल्सीले यस सिजन युरोपेली क्लब फुटबलको खेलाडी सरुवा बजारमा ठुलो रकम खर्च गरेको छ । चेल्सीले यस समर ट्रान्सफरमा झण्डै २ सय मिलियन खर्च गर्दै मुख्य ६ खेलाडीलाई अनुबन्धन गरेको छ ।
प्रशिक्षक लाम्पार्डले नयाँ सिजन चेल्सीले उपाधिमा दाबेदारिता प्रस्तुत गर्ने संकेत गरेका छन् ।
क्लबले गत सिजन खेलाडी सरुवामा प्रतिबन्ध भोगेको थियो । बर्षमा दुई पटक खेलाडी सरुवा गर्न नपाएपनि चेल्सीले चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । उसले एफ ए कपको उपाधि शहरी प्रतिद्धन्दी आर्सनललाई सुम्पिएको थियो ।
लाम्पार्डले नयाँ खेलाडीको आगमनले क्लबको परिदृष्य बदलिने बताए ।
‘म यहाँ शीर्ष चारमा भिड्नका लागि आएको हैन । र एकेडेमीको खेलाडी राख्न समेत आएको हैन । म यहाँ जित्न आएको हो । गत बर्ष हामीले खेलाडी लिन सकेनौ । यो बर्ष क्लबले नयाँ खेलाडी ल्याउने निर्णय गरेको छ ।’ उनले भने ।
‘यसले क्लबको परिदृष्यलाई बदल्नेछ र हामी काम गर्नका लागि तयारी अवस्थामा छौ ।’ लाम्पार्डले थपे ।

चेल्सीले जर्मनका अन्तराष्ट्रिय खेलाडी काइ हभार्ट्जलाई ७२ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ । यस्तै, जर्मन खेलाडी टिमो वार्नरलाई ४८ मिलियन र वेन चिलवेललाई ४५ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।
मोरोकानका हाकिम जियाच यसअघिनै ३६ मिलिनय पाउण्डमा चेल्सी आउने निश्चित बनेको थियो भने डिफेन्डर थिएगो सिल्भा र मलंङ सर्र फ्रि–ट्रान्सफको रुपमा क्लबमा जोडिएका हुन् ।
अन्तिम पटक लाम्पार्डलाई एकेडेमीका धेरै युवा खेलाडीलाई मैदानमा उतार्न बाध्यता थियो । युवा खेलाडीलाई हस्ताक्षर गर्नका लागि नियम उल्लंघन गरेको आरोपमा फिफाले उसलाई कारबाही गरेको थियो । तर टिममा ठुलो लगानी गरेपछि लाम्पार्ड नेतृत्वको चेल्सीमाथि अपेक्षा समेत बढेको छ ।
‘मलाई राम्रो गर्नका लागि दबाब छ । तर बयानको रुपमा धेरै बोल्न चाहदिन ।’ उनले भनेका छन् ।
‘गत सिजन हामी च्याम्पियन्स लिगमा छनोट हुदाँ खुसी थियौ ।’ उनले भने, ‘मलाई आश्चार्य लाग्नेछ, यदी तपाईलाई लाग्दैन कि गत सिजन म दबाबमा थिईन । म दबाबलाई टाढा राख्न चाहन्छु । मलाई यही गर्न मन पर्छ ।’