काठमाडौं । गत बर्षको ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबले आफ्ना विदेशी खेलाडीको विदाई गरेको छ ।
बिहीबार क्लबले मिडफिल्डर आन्द्रे नियालाई विदाई गरेसँगै मछिन्द्रले लिग खेलेका तीन जनै विदेशी खेलाडीलाई स्वदेश फर्काउन लागेको हो ।
मछिन्द्र क्लबमा ब्यवस्थापक अनिल श्रेष्ठले आफ्ना तीन जना विदेशी खेलाडीलाई विदाई गरिएको खेलपाटीलाई बताए ।
‘विदेशी खेलाडीलाई विदाई गरेका छौं ।’ पहिलो पटक क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका ब्यवस्थापक श्रेष्ठले भने ।

चैत ३ गते भएको लिगको अन्तिम खेलमा आर्मीलाई पराजित गर्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि हात पारेको थियो । अन्तिम खेलमा उपाधिको लागि आर्मीलाई बराबरीकै नतिजा पर्याप्त थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका विराज महर्जनको नेतृत्वमा मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो ।
पहिलो पटक लिग जित्न ठुलो लगानी गरेको मछिन्द्रले विराजसँगै राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई टिममा समेटेको थियो ।
मछिन्द्रले घरेलु फुटबलका तीन राम्रा विदेशी खेलाडीलाई टिममा राखेको थियो । डिफेन्डर पिटर सेगुन र मिडफिल्डर एडेलाजा घरेलु फुटबलमा पुराना अनुहार हुन् ।
आन्द्रेनियाले पहिलो पटक ए डिभिजन लिग खेलेका थिए ।
यसअघि मनाङ मस्र्याङ्दी र थ्री स्टारबाट समेत खेलिसकेका पिटर गत ६ तारिखमै स्वदेश फर्किएका थिए । आन्द्रेनिया भने भोली (शुक्रबार) त्यसतर्फ प्रस्थान गर्नेछन् । यस्तै, एडेलाजाको भने सेप्टेम्बर १४ मा टिकट बुक गरेको ब्यवस्थापक श्रेष्ठले बताए ।
यस्तै, मछिन्द्र क्लबले तीन जना विदेशी खेलाडीलाई स्वदेश पुगेपछि क्वारेन्टिनमा बस्नका लागि खर्च उपलब्ध गराएको जनाएको छ ।
ब्यवस्थापक श्रेष्ठले प्रत्येक खेलाडीलाई १५ दिन क्वारेन्टिनमा बस्न १ सय ५० डलर मिलाएको बताए ।
‘हामीले खेलाडीलाई बोनस सहित क्वारेन्टिन खर्चबापत १ सय ५० डलर दिएका छौं ।’ उनले भने ।

लिगका लागि एक बर्ष सम्झौता गरेका खेलाडी कोरोना कहरकाबीच नेपालमै रहदै आएका थिए । कोरोना महामारीका कारण मोफसल सहित देशभरका फुटबल गतिविधि स्थगित अवस्थामा छन् ।
कोरोना महामारीले कुनै पनि प्रतियोगिताको टुंगो नहुँदा क्लबहरुले आफ्ना विदेशी खेलाडीलाई स्वदेश फर्काउन थालेका छन् ।
घरेलु फुटबलमा प्राय ए डिभिजन क्लबले लिग खेल्न विदेशी खेलाडी ल्याउने गरेका छन् । उनीहरु प्राय अफ्रिकन देशबाट नेपालमा फुटबल खेल्न आउने गर्छन् ।
गत बर्ष लिग सकिने बित्तिकै मोफसलका प्रतियोगिता सुरु भएका थिए । कोरोनाका कारण मोफसलको सिजन पुरा हुन नपाउँदै देश लकडाउनमा गयो । राष्ट्रिय लिगका लागि ठुला क्लबले राम्रा विदेशी खेलाडीलाई क्लबमै राखेका थिए । बाँकी विदेशी खेलाडी मोफसलका प्रतियोगिता खेल्न अन्य जिल्ला स्तरीय क्लबमा आबद्ध भएका थिए ।
कोरोनाले मुलुक प्रभावित बनेपछि अन्तराष्ट्रिय उडान समेत ठप्प रहेको छ । सोही कारण विदेशी फुटबलरहरु काठमाडौंमा फसेका थिए । फुटबलको नयाँ सिजन सुरु हुने निश्चित नभएपछि क्लबहरुले आफुसंग आबद्ध गरेका धेरै विदेशी खेलाडीलाई स्वदेश फर्काउन थालेका छन् ।