एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले युवा फरवार्ड साम ग्रीनउडलाई अनुबन्ध गरेको छ ।
लिड्सले १८ वर्षीय फरवार्डलाई आर्सनलबाट अनुबन्ध गरेको हो ।
ग्रीनउडले लिड्ससँग तीन वर्षको सम्झौता गरेका छन् ।
लिड्सले ग्रीनउड अनुबन्धको रकम भने खुलाएको छैन ।
ग्रीनउडले युथ लिगमा आर्सनलका लागि उत्कृष्ट खेलिरहेका थिए ।
इंग्ल्यान्डका युवा फरवार्ड ग्रीनउडले आर्सनलको यू-१८ र यू-२३ टोलीबाट खेलिसकेका छन् ।
लिड्स यस सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको हो ।
च्याम्पियनसिपको उपाधि जित्दै लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो ।
लिड्स सन् २००४ मा रेलिगेसनमा परेको थियो ।
लिड्सले प्रिमियर लिग च्याम्पियन लिभरपुलसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।