काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक रिजालले भारतीय लिगमा लगाउने जर्सी नम्बर पक्का भएको छ ।
भारतीय आईलिगको दोस्रो डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङ पुगेका अभिषेकले ११ नम्बरको जर्सी लगाउने भएका हुन् ।
वेष्ट बंगाल क्लबले यसै हप्ताबाट सुरु गरेको अभ्यास सत्रमा अभिषेक ११ नम्बरको जर्सीमा देखापरेका छन् ।
खेलपाटीसँग बोल्दै अभिषेकले भारतीय लिगमा आफु ११ नम्बरको जर्सीमा देखिने बताए ।
‘भारतीय लिगमा ११ नम्बरले जर्सी लगाउने पक्का भएको छ ।’ पहिलो पटक भारतीय लिगमा खेल्न लागेका अभिषेकले भने ।
अभिषेकले मेहम्मेदन एफसीसँग तीन बर्षको सम्झौता गरेको छन् । सम्झौता अनुसार क्लब शीर्ष डिभिजनमा बढुवा नभएको अवस्थामा अन्य आईलिग क्लबबाट प्रस्ताव आएमा अभिषेक रिलिज हुन पाउनेछन् ।

सन् १९८१ मा स्थापना भएको क्लब पहिलो पटक शिर्ष डिभिजनमा उक्लिने योजनामा छ । उसले सोहि अनुसार लगानी पनि गरेका छ ।
भारतीय दोस्रो डिभिजन लिग जित्ने लक्ष्य सहित क्लबले खेलाडी अनुबन्धनमा राम्रै खर्च गरेको छ । कोरोना कहरका बीच सुरु हुन लागेको लिगमा पहिलो अभ्यास सत्र सुरु गर्ने टिमपनि मोहम्मेदन भएको छ ।
पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको शुभेच्छुक अभिषेकलाई नेपाली रोनाल्डोको उपमा नेपाली प्रशंसकले दिने गरेका छन् । सोहि अनुरुप अभिषेकले घरेलु लिग र राष्ट्रिय टिममा समेत ७ नम्बर जर्सी लगाउने गरेका थिए ।
यसअघि मनाङ मस्र्याङ्दी क्लबबाट एएफसी कप खेल्दा ९ नम्बर जर्सीमा देखिएका थिए । उनी पहिलो पटक ११ नम्बर जर्सीमा देखिन लागेका हैनन् । एन्फा एकेडेमीमा रहँदा थ्री स्टारको उमेर समूहबाट खेल्दा उनले ११ नम्बर जर्सी लगाएका थिए ।
भारतमा भने सिनियर खेलाडीले ७ र ९ नम्बरको जर्सी लगाउँदा आफुले ११ नम्बर पाएको अभिषेकले बताए ।
‘क्लबमा ७ नम्बरको जर्सी लगाउँछु भन्ने थियो । तर पुराना खेलाडीले लगाईसकेको रहेछन् । ९ नम्बर पनि बुक भैसकेकाले ११ नम्बर जर्सी रोजेको हो ।’ अभिषेकले भने ।
कोरोना भाईरसका कारण रोकिएको दोस्रो डिभिजनको लिगमा मोहम्मेदनले ६ खेल खेलेको छ । जसमा ४ जित निकाल्दा २ खेलमा हार ब्यहोरेको छ । उसले १२ अंक जोड्दै तालिकाको शीर्ष छ ।