एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले स्पेनिस फरवार्ड रोड्रिगो मोरेनो अनुबन्ध गर्ने पक्का भएको छ ।
लिड्सले फरवार्ड रोड्रिगोलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गर्न लागेको हो ।
रोड्रिगो अनुबन्धका लागि लिड्स र भ्यालेन्सिया सहमत भएको बीबीसीले जनाएको छ ।
लिड्सले रोड्रिगोसँग औपचारिक सम्झौता भने गरेको छैन । तर, भ्यालेन्सियाले उनलाई नयाँ यात्राको लागि शुभकामना दिईसकेको छ ।
भ्यालेन्सियाको लागि रोड्रिगोले २ सय २० खेलमा ५९ गोल गरेका छन् । भ्यालेन्सियाबाट उनले कोपा डेल रे जितेका छन् ।
ब्राजिलमा जन्मिएका रोड्रिगोले स्पेनका लागि २२ खेलमा ८ गोल गरिसकेका छन् ।
लिड्स यस सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको हो ।
च्याम्पियनसिपको उपाधि जित्दै लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो ।
लिड्स सन् २००४ मा रेलिगेसनमा परेको थियो ।