एजेन्सी । डच क्लब आयाक्सका डिफेन्डर डेली ब्लाइन्ड फुटबल खेलकै दौरान बेहोस भएर मैदानमा ढलेका छन् ।
प्रि-सिजन तयारी अन्तर्गत मंगलबार राति घरेलु मैदानमा जर्मन क्लब हेर्था बर्लीनविरुद्धको मैत्रीपूर्ण खेलमा डिफेन्डर ब्लाइन्ड बेहोस भएर मैदानमा ढलेका हुन् ।
आम्स्टरडाम एरिनामा दोस्रो हाफको खेलमा ब्लाइन्ड मैदानमा ढलेका थिए ।
ब्लाइन्ड मैदानमा ढलेपछि क्लबको मेडिकल टिमले मैदानमै प्राथमिक उपचार गरेका थिए । र, ब्लाइन्ड ७९ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

नेदरल्यान्ड्सका डिफेन्डर ब्लाइन्ड मुटुको समस्याको कारण मैदानमा ढलेको बताईएको छ ।
ब्लाइन्डले गत वर्ष मुटुमा इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलिटर (आईसीडी) राखेका थिए ।
३० वर्षीय ब्लाइन्डलाई २०१९ को डिसेम्बरमा मुटु सम्बन्धि रोग देखा परेको थियो ।
म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर समेत रहेका ब्लाइन्ड अहिले पूर्ण रुपमा ठिक रहेको आयाक्सका प्रशिक्षक एरिक टेन हागले बताएका छन् ।
