कोन्टे ईन्टरमै रहने

एजेन्सी । एन्टोनियो कोन्टेले ईन्टर मिलानमा प्रशिक्षकको रुपमा निरन्तरता पाउने भएका छन् ।
ईन्टर मिलान र प्रशिक्षक कोन्टेबीच मिलेर अघि बढ्ने बिषयमा सहमती बनेको छ ।
युरोपा लिगको फाईनलमा पराजित भएपछि कोन्टेले क्लबका अध्यक्ष स्टेफन झाङसंग छलफल गरेका थिए ।
सिरि एको उपाधिबाट बिमुख हुन परेपछि ५१ बर्षिया कोन्टेले क्लबको बोर्डको आलोचना गरेका थिए । उनले युरोपा लिग समेत गुमाउनु परेपछि आफुले क्लब छाड्न सक्ने बताएका थिए ।
‘रणनीतिको निरन्तरता र साझेदारीको रुपमा आजको बैठक रचनात्मक रह्यो ।’ क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
‘योसंगै परियोजना जारी राख्नका लागि आधार स्थापना गरिएको छ ।’ क्लबले भनेको छ ।
ईन्टरले लिगमा मात्र चार खेल गुमाएको थियो । तर युभेन्ट्सलाई उसले नवौं लिग उपाधि जित्नबाट रोक्न सकेन । एक अंकले पछि रहदै उसले लिग उपाधि युभेन्ट्सलाई सुम्पिएको थियो ।
प्रिमियर लिग क्लब चेल्सीमा रहदा कोन्टेले एक लिग उपाधि सहित एफ एक कप जिताएका थिए । ईन्टर आएको पहिलो बर्षमै उनले क्लबलाई तीन उपाधिको नजिक पुर्याएका थिए ।
ईटाली र युभेन्ट्सका पूर्व मिडफिल्डर कोन्ट्ले गत बर्षको मेबाट ईन्टरमा काम गर्न सुरु गरेका हुन् ।