एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुलले प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा अष्ट्रियन क्लब रेड बुल साल्जबर्गसँग बराबरी खेलेको छ ।
मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले साल्जबर्गसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु टोलिसँग पहिलो हाफमै २-० ले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको हो ।
रेड बुल एरिनामा खेलको तेस्रो मिनेटमा पाट्सन डाकाको गोलबाट साल्जबर्गले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको १३ औं मिनेटमा पाट्सनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा घरेलु टिम २-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा लिभरपुलका रियन ब्रेउस्टर चम्किए ।
खेलको ७२ औं मिनेटमा ब्रेउस्टरले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि ८१ औं मिनेटमा ब्रेउस्टरले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
नयाँ सिजनको सुरुवात अघि लिभरपुल प्रि-सिजन तयारीका लागि अष्ट्रियामा रहेको छ ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १९ बाट सुरु हुनेछ ।