एजेन्सी । इंग्लिस मिडफिल्डर जेम्स म्याडिसनले प्रिमियर लिग क्लब लेष्टर सिटीसँग नयाँ सम्झौता गरेका छन् ।
अट्याकिङ मिडफिल्डर म्याडिसनले क्लबमा थप चार वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै म्याडिसन सन् २०२४ सम्म लेष्टरमा रहने छन् ।
'क्लबसँगको नयाँ सम्झौतामा म धेरै खुशी छु,' म्याडिसनले भने, 'लेष्टर आएपछि म हरेक कुरामा रमाइलो गरिरहेको छु ।'
२३ वर्षीय म्याडिसन नर्विच सिटीबाट २०१८ मा लेष्टर आएका थिए ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका म्याडिसनले लेष्टरका लागि ७६ खेलमा १६ गोल गरिसकेका छन् ।
लेष्टर सोमबार फ्रान्सका मिडफिल्डर नाम्प्लेज मेन्डीसँग पनि नयाँ सम्झौता गरेको थियो ।
२८ वर्षीय मेन्डीले क्लबमा थप दुई वर्ष रहने गरी नयाँ सम्झौता गरेका थिए ।