एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक थोमस टुचेलले बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी पेरिस आउन चाहेमा स्वागत गरिने बताएका छन् ।
बिटी स्पोर्ट्ससँग कुरा गर्दै टुचेलले अर्जेन्टिनाका कप्तान मेस्सी क्लब आएमा स्वागत गरिने बताएका हुन् ।
टुचेलले धेरै खेलाडीले क्लब छाडेको बताउँदै उत्कृष्ट टिम बनाउन यस ट्रान्सफरमा राम्रा खेलाडी अनुबन्ध गरिने समेत बताए ।
'उनी (मेस्सी) लाई धेरै स्वागत छ । हामीले यस सिजन धेरै खेलाडी गुमायौं र अब हामीले थियागो सिल्भा गुमाएका छौँ । राम्रो टोलि बनाउन हामीले अब ट्रान्सफर विन्डो प्रयोग गर्नु पर्छ,' टुचेलले भने ।
बार्सिलोनाका कप्तान समेत मेस्सीले क्लब छाड्ने चर्चा चलिरहेको टुचेलको यस्तो भनाई आएको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लब छाड्ने हल्ला चलेको थियो ।
पोर्चुगलको लिस्बनमा गत शुक्रबार भएको खेलमा बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।
उक्त हारपछि बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गर्दै डोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्ति गरिसकेको छ ।
क्लब छाड्ने हल्लाबारे मेस्सीले भने केहि बताएको छैन । तर, ३३ वर्षीय फरवार्डले नयाँ प्रशिक्षक कोम्यानसँग क्लब छाड्नेबारे बताईसकेको स्पेनिस मिडियाहरुले दाबी गरेको छ ।
यस्तै मेस्सीलाई अनुबन्ध गर्न पीएसजीसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब युभेन्ट्सले चासो देखाएको स्पेनिस मिडियाले बताउँदै आएको छ ।
तर, टुचेलले मेस्सीले बार्सिलोना छाड्ने सम्भावना कम रहेको समेत बताए ।
'कुन प्रशिक्षकले मेस्सीलाई इन्कार गर्छ ? मेरो विचारमा मेस्सीले बार्सिलोनाबाटै करियरको अन्त्य गर्छ । उ मिस्टर बार्सिलोना हो,' टुचेलले भने ।