एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) हुँदैछ ।
दोस्रो सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुनेछ ।
बायर्न र लियोनबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्चुगलको लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।
दुई टिमबीचको विजेताले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ ।
यस सिजन बायर्नलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । बायर्नले आफुलाई प्रमाणित समेत गर्दै आईरहेको छ ।
बायर्नले क्वाटरफाइनलमा बार्सिलोनालाई ८-२ गोल अन्तरले हराएको थियो । बार्सिलोनामाथिको शानदार जितले बायर्न उच्च मनोबलमा समेत हुनेछ ।
'जितका लागि मेरो टोली केन्द्रित छ । हामीले ठुलो लक्ष्य राखेका छौं । तर, यो सुन्य सुन्य गोलबाट सुरु हुन्छ । हामीले बार्सिलोनाविरुद्धको जस्तै तीव्रताका साथ खेल्नु पर्नेछ,' बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने ।
तर, लियोन समेत कमजोर देखिएको छैन । लियोनले समेत क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको थियो ।
'सिटीले प्रिमियर लिगमा एक सय बढी गोल गर्यो । त्यसैले तथ्यांकलाई हेर्छौं भने हामी केवल होटलमा खेल देख्न सक्छौं र बायर्नले एक्लै खेल्न सक्छ,' ग्रासियाले भने, 'उनीहरुसँग धेरै कमजोरी छैन तर कुनै टिम उत्कृष्ट छैनन् । हामी अन्डरडग टिम हौँ । हामीले यहाँ पुग्न ठुला टिमलाई हरायौँ र उनीहरुले गम्भीर रुपमा लिन थालेका छन् ।'
युरोपियन प्रतियोगितामा दुई टिमबीच ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा बायर्नले ४ खेल जित्दा लियोनले दुई जित निकालेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।
पछिल्लो पटक दुई टिमबीच २००९/१० को सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा बायर्नले समग्रमा ४-० को जित निकालेको थियो ।