एजेन्सी । बार्सिलोनाले नेदरल्याण्डका रोनाल्ड कोमेनलाई नयाँ प्रशिक्षक बनाउने भएको छ ।
नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेको कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले क्लबको नयाँ प्रशिक्षकमा कोमेनलाई राख्ने तयारी गरेको बताए । उनले यसै हप्ता बार्सिलोनासंग औपचारिक सम्झौता गर्नेछन् ।
मंगलबार राति बोल्दै बर्टोमेउले भने, 'कोमेन एउटा हुन्, जसलाई हामीले रोजेका छौ । केही गलत भएन भने उनी अर्को सिजनका लागि मुख्य प्रशिक्षक बन्नेछन् ।'
नेदरल्याण्ड र बार्सिलोनाका पूर्व डिफेन्डरले मंगलबार क्लबमा आउने सहमती गरेका छन् ।

उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५सम्म खेलेका थिए । उनले चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनको नेदरल्याण्डसंग सन् २०२२ को विश्वकपसम्म सम्झौता रहेको छ ।
बार्सिलोनाले मंगलबारमात्र खेल निर्देशक एरिक एबिडाललाई बर्खास्त गरेको थियो । एक दिन अघि क्लबले मुख्य प्रशिक्षक क्विक सेटिनलाई पदबाट बर्खास्त गरेको थियो ।
च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि बार्सिलोनाले क्लबमा ब्यापक हेरफेरको तयारी गरेको छ ।